settings icon
share icon
प्रश्न

चार आत्मिक नियमहरू केके हुन्?

उत्तर


चार आत्मिक नियममध्ये पहिलो नियम, "परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंको जीवनका लागि उहाँको अचम्मको योजना छ।" यूहन्ना ३:१६ ले भन्दछ, “परमेश्वरले संसारलार्इ यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अन्नत जीवन पाओस्।" येशू यस संसारमा किन आउनुभयो भन्ने कारण यूहन्ना १०:१० ले बताउँदछ, "म त तिमीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।" परमेश्वरको प्रेम पाउनबाट हामीलाई कुन कुराले रोकिराखेको छ? प्रशस्तताको जीवन पाउनबाट कुन कुराले रोकिराखेको छ?

चार आत्मिक नियममध्ये दोस्रो नियम, "पापद्वारा मानवता भ्रष्ट भएको छ, त्यसैले परमेश्वरबाट अलग भएको छ। परिणामतः हाम्रो जीवनका लागि परमेश्वरको अचम्मको योजना थाहा पाउन सक्दैनौं।" रोमी ३:२३ ले निश्चित रूपमा बताएको छ, "किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।" रोमी ६:२३ ले पापको परिणामको बारेमा बताउँछ, "पापको ज्याला मृत्यु हो।" परमेश्वरले हामीलाई उहाँसँग संगति गर्न बनाउनुभयो। तैपनि मानवले यो संसारमा पाप ल्यायो, जसले हामीलाई परमेश्वरबाट अलग बनायो। उहाँसँगको सम्बन्ध भताभुङ्ग भयो, जुन उहाँको इच्छाअनुसार थिएन। यसको समाधान के हो?

चार आत्मिक नियममध्ये तेस्रो नियम, "येशू ख्रीष्ट हाम्रो पापको लागि एक मात्र व्यवस्था हुनुहुन्थ्यो। येशू ख्रीष्टद्वारा मात्र पापको क्षमा पाउन सकिन्छ र परमेश्वरसँग फेरि राम्रो सम्बन्ध स्थापना गर्न सकिन्छ।" रोमी ५:८ ले हामीलाई भन्छ, "तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।" १ कोरिन्थी १५:३-४ ले हामीलाई जानकारी दिन्छ कि बचाइनको लागि के कुरा बुझ्न र विश्वास गर्न आवश्यक छ, "...पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो, उहाँ गाड़िनुभयो र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जिवित पारिनुभयो।" यूहन्ना १४:६, "बाटो सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।" यो अचम्मको मुक्तिको उपहार म कसरी प्राप्त गर्न सक्छु?

चार आत्मिक नियममध्ये चौथो नियम, "परमेश्वरको अचम्मको योजना हाम्रो जीवनमा थाहा पाउन र मुक्तिको उपहार प्राप्त गर्न हामीले येशू ख्रीष्ट मेरो मुक्तिदाता भनी विश्वास राख्नुपर्दछ।" यूहन्ना १:१२ ले हामीलाई बताउँछ, "तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो।" प्रेरित १६:३१ ले स्पष्टसँग बताएको छ, "प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईंले उद्धार पाउनुहुनेछ!" किनभने अनुग्रहबाट, विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौँ (एफिसी २:८-९)।

यदि तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गर्न र परमेश्वरबाट आफ्नो पापको क्षमा चाहनुहुन्छ भने यो सरल प्रार्थना तपाईंले गर्न सक्नुहुन्छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र पापहरूको क्षमा पाइन्छ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई क्षमा दिनुभएकोमा धन्यवाद चढाउन होः “प्रभु, म जान्दछु कि मैले तपाईंको विरुद्धमा पाप गरेको छु र सजायँ पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजाय भोग्नुभयो, जसको म योग्य थिएँ, ताकि उहाँमा विश्वास गरेर मेरो पाप क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

चार आत्मिक नियमहरू केके हुन्?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries