settings icon
share icon
प्रश्न

येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनेको अर्थ के हो?

उत्तर


एकजना मानव पिता र पुत्रको अर्थमा येशू परमेश्वरको सन्तान हुनुहुन्न। परमेश्वरले विवाह गर्नु भएर पुत्र जन्माउनु भएको होइन। परमेश्वरले मरियमसँग सहवास गरेर, उनीसँग मिलेर पुत्र जन्माउनु भएको होइन। येशू यस अर्थमा परमेश्वरको पुत्र हुनुहुन्छ कि उहाँ नै परमेश्वर हुनुहुन्छ जो मानिसको रुपमा प्रकट हुनु भयो (यूहन्ना १:१, १४)। येशू परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा मरियममा गर्भधारण हुनु भयो। लूका १:३५ ले यो घोषणा गर्दछ, “स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।”

यहूदी अगुवाहरुको सामुन्ने उहाँको मुकदमाको बेला, मुख्य पूजाहारीले येशूसँग यस्तो माग गरे, “जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस्?” (मत्ती २६:६३)। “येशूले तिनलाई भन्नुभयो, ‘तपाईंले नै भनिहाल्नुभयो। तापनि म तपाईंहरुलाई भन्दछु, अब उप्रान्त तपाईंहरुले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ’” (मत्ती २६:६४)। यहूदी अगुवाहरुले येशूलाई ईश्वरनिन्दाको दोष लगाउँदै जवाफ दिए (मत्ती २६:६५-६६)। त्यसपछि, पेन्तियुस पिलातसको सामुन्ने, “यहूदीहरुले उनलाई जवाफ दिए, “हाम्रो एउटा व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ” (यूहन्ना १९:७)। परमेश्वरको पुत्र हुँ भन्ने उहाँको दावीलाई ईश्वरनिन्दाको रुपमा लिएर मृत्युदण्डको योग्य किन मानिलिइयो? येशूले “परमेश्वरको पुत्र” वाक्याँशद्वारा के भन्न चाहनु भएको थियो भन्ने कुरालाई यहूदी अगुवाहरुले स्पष्टसँग बुझेका थिए। परमेश्वरको पुत्र हुनु चाहिँ परमेश्वरकै स्वभावको हुनु हो। परमेश्वरको पुत्र “परमेश्वरकै” हुनुहुन्छ। परमेश्वरकै स्वभावको हुनु— वास्तवमै परमेश्वर हुनु— भन्ने दाबी चाहिँ यहूदी अगुवाहरुका लागि ईश्वरनिन्दा थियो; यसकारण, तिनीहरुले येशूलाई मृत्युदण्डको माग गरे, लेवी २४:१५ अनुसार। हिब्रू १:३ ले यसलाई एकदमै स्पष्टसँग व्यक्त गर्दछ, “उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरुप हुनुहुन्छ.....।”

यूहन्ना १७:१२ मा अर्को उदाहरण पाउन सकिन्छ जहाँ यहूदालाई “विनाशको छोरा” भनी वर्णन गरिएको छ। यूहन्ना ६:७१ ले हामीलाई भन्दछ कि यहूदा चाहिँ शिमोनका छोरा थिए। यहूदालाई “विनाशको छोरा” भनी वर्णन गरेर यूहन्ना १७:१२ ले के भन्न चाहेको हो? विनाश शब्दको अर्थ हुन्छ, “सर्वनाश, विनास, सत्यनाश।” यहूदा शाब्दिक अर्थमा “सर्वनाश, सत्यनाश, विनाश” का छोरा थिएनन्, तर ती कुराहरुको यहूदाको जीवनको पहिचान थियो। यहूदा चाहिँ विनासको एउटा प्रकटीकरण थियो। यस्तैगरि, येशू परमेश्वरका पुत्र हुनुहुन्छ। परमेश्वरका पुत्र परमेश्वर नै हुनुहुन्छ। येशू परमेश्वरको प्रकट रुप हो (यूहन्ना १:१,१४)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनेको अर्थ के हो?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries